Nischal Timalsina

जीवन नै मेरो सबैभन्दा ठुलो प्रेरणा हो..

कोरेको छु शब्द हजार, अर्थ खोज्न बाँकी नै छ।
यो जीवनको अर्थ के, यथार्थ खोज्न बाँकी नै छ।

जीवनकथा अनि प्रेम गाथाहरु, समयले रचेका कविता अनि परिस्थितिका गजलहरु। यसै रचेको छु केहि सम्झनाका पात्रहरू कल्पनाको कागजमा।

अनी एउटा यात्रा समयको

तिमी हरेक दिन एउटा युद्ध लडिरहेका छौ, युद्ध आफैंसंग, युद्ध जीवनसंग। हर क्षण, हर घडी जीवनसंग को लडाइँमा मृत्युको एक पाइला नजिक पुग्दै छौ। जीवन निश्चिति छैन तर मृत्युसंग को मिलाप तय छ। एउटा सत्य जसबाट तिमी भाग्न सक्दैनौ। त्यसैले भनिन्छ- जीवन एउटा मिठो झुठ हो अनि मृत्यु तितो सत्य।
यात्रा निकै लामो छ, यद्यपि समय एकदम कम। 
       समयचक्रमा जन्मन्छ मानस,
       समयसङै समाधिस्त हुन्छ।
न कसैको निम्ति पर्खन्छ, न त सुस्त नै हुन्छ। आफ्नो अनुशासनलाई कहिल्यै त्याग्दैन समय। न मित्र हो कसैको, न शत्रु। 
समयको एउटा विशेषता छ, परिवर्तन। ब्रह्माण्डको जन्मदेखि समय परिवर्तनको पथमा यात्ररत छ। हिजो, आज र भोलिमा समयान्तर छ। दिन, घडी, क्षण र पलको समयान्तर। अनन्तकाल सम्म पनि यो समयान्तर रहिरहन्छ। 
तिमी सपनाहरू देख्छौ, ती सपना पुरा गर्नकै लागि अनेकौं प्रयास गर्छौ। अनि हजारौं सपनाको थुप्रोमुनि पुरिएको आफ्नो भागको समय देख्दैनौ। 
समय-यात्रामा व्यस्त रहनु तिमी । एक दिन यो यात्रा अन्त्य हुने छ। समय रोकिने छ, तिम्रो लागि। तबसम्म, शुभ समय-यात्रा।